पत्रपत्रिका

अपहरणमा परेका गाउँपालिका अध्यक्ष भन्छन्- ‘विप्लवका सेनाले मलाई सभ्य ब्यबहार गरे’ (भिडियो)

शनिबार राति दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरे। नेकपाबाट निर्वाचित शाहीलाई अपहरणमा परेको करिब १८ घण्टापछि आइतबार बेलुका प्रहरीले उद्दार गर्‍यो।

उनलाई आइतबार राति १ बजेतिर दैलेख बजार ल्याइएको छ।

तीन तिरबाट घेरा हालेर शाहीलाई उद्दार गरिएको कालिकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलियाले जानकारी दिए। उनका अनुसार प्रहरीको घेराबन्दीमा परेपछि अध्यक्ष शाहीलाई छोडेर विप्लव कार्यकर्ता भागेका थिए।

भिडियो:

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार अहिलेसम्म अपहरण गर्ने कार्यमा संलग्न विप्लव समूहका कार्यकर्ता भने पक्राउ परेका छैनन्। ‘अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन, खोजी कार्य जारी छ,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले भने।

अपहरणमुक्त भएका गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्रहरीको र आफूलाई अपहरण गरेका मानिसको जम्काभेट भएपछि उनीहरू भागेका थिए। त्यसक्रममा करिब २० देखि ३० राउण्ड फायरिङ समेत भएको अध्यक्ष शाहीले बताए।

‘तपाईं हाम्रो बन्दी हो, हाम्रै सम्पर्कमा जानुपर्छ भनेर भन्नुभएको थियो, अँध्यारो भइसकेको थियो। हामी हिँडिरहेका थियौं। सुरक्षाकर्मीसँग जम्काभेट भयो,’ अध्यक्ष शाहीले भने, ‘म त पछाडि थिएँ, उहाँहरू (विप्लव कार्यकर्ता) तीन जना अगाडि हुनुहुन्थ्यो। त्यसपछि उहाँहरू दुश्मन आयो भनेर दौडिरहनुभएको थियो। म दौडिन सक्ने अवस्था रहेन, बाटोको भित्तातर्फ लुकेर बसेँ, पछि सुरक्षाकर्मीले भेटाए अनि मलाई समाते।’

आफूलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा नै करिब २० देखि ३० पटक फायरिङ भएको आफूले सुनेको उनले बताए।

यसरी अपहरणमा परेका थिए अध्यक्ष

शनिबार राति करिब साढे १२ बजेतिर ठाँटीकाध गाउँपालिका-२ सिरुपाटामा रहेको शाहीको घरमा केही मान्छे आए। ढोका खोल्न भनेपछि शाहीले नै ढोका खोले र आएका ती मानिसहरूले सोधपुछ गर्नुछ भनेर अध्यक्ष शाहीलाई बाहिर बोलाए।

‘मेरो म्याडमले ढोका खोल्न मानिनन्, मैले खोलौं न त को मान्छे हो भनेर भनें। ढोका नखोलेपछि उहाँहरू र मेरो म्याडमको भनाभन पनि भयो,’ शाहीले भने, ‘त्यसपछि मैले ढोका खोलें, तपाईंहरू को हो भन्दा ‘हामी विप्लवको कार्यकर्ता हो’ भन्नुभयो। त्यसपछि तपाईंसँग सोधपुछ गर्नुछ भनेर लिनुभयो।’

अध्यक्ष शाहीले सेतोपाटीलाई भने अनुसार उनकी श्रीमतीलाई भने विप्लव समूहले अपहरण गरेको होइन। ‘मेरो म्याडमले म पनि सँगै जान्छु भनेर म सँग गइन्, मैले उहाँहरू राजनीतिक कार्यकर्ता हो। त्यही अनुसारको व्यवहार गर्नुहुन्छ, तिमी जाऊ भनेर भनेपछि म्याडम फर्किइन्,’ उनले भने।

अपहरण गरेदेखि अपहरणमुक्त हुने बेलासम्म लगातार आफूहरू हिँडेको शाहीले बताए। घरबाट लिएपछि उक्त समूहले उत्तरतिर पूरै हिउँ भएको बाटोमा लगेको उनले बताए। कतिपय कल्पनै गर्न नसकिने खालको अप्ठ्यारो बाटोमा समेत हिँडेको शाहीले बताए।

‘घरबाट जाँदाखेरी त एक घण्टासम्म हामी राम्रो बाटो हिँड्यौं, त्यसपछि भने दुई घण्टासम्म अनकन्टार भीरमा हिँड्यौं,’ अध्यक्ष शाहीले भने, ‘भीरमाम हिँड्न सकिनँ, त्यसपछि राम्रो बाटो खोज्न लगाएर गयौं। आइतबार दिनभर पनि हिउँमा हिँड्यौं, त्यसपछि भने पूरै जंगलमा हिँड्यौं।’

शाहीले अपहरण गरिसकेपछि विप्लव कार्यकर्ताले आफूसँग सभ्य व्यवहार गरेको बताए। अपहरणको समयमा उनीहरूले अपशब्द बोल्ने, गलत व्यवहार गर्ने काम नगरेको र आफूलाई उच्च सम्मान गरेको शाहीले बताए।

‘बाटोमा हिँड्ने क्रममा मैँले हिँड्न सक्दिनँ भनेपछि बसौं सर भन्नुभयो,’ उनले भने, ‘हिजो बिहान (आइतबार) एक ठाउँ खाना खाँदा उहाँहरूले पहिला मलाई नै खाना दिनुभयो, म बस्ने ठाउँमा पनि उनीहरूको एउटा गम्छा थियो। यसैमा सुत्नुस् तपाईं राति सुत्न पाउनुभएको छैन भन्नुभयो, त्यो व्यवहारचाहिँ राम्रो लाग्यो।’

उनीहरूको असल व्यवहारका कारण अपहरणमा परेपछि डर महसुस नभएको उनले बताए।

अपहरणको कारण कार्यकर्ता रिहाइ

शाहीले आफूलाई अपहरण गर्नुको कारण पक्राउ परेका विप्लवका कार्यकर्ताको रिहाइ रहेको बताए। बाटोमा जाँदा आफूलाई अपहरण गर्नुको कारणबारे सोध्दा उनीहरूले ‘हाम्रा १२ सय जति कार्यकर्ता थुनिएका छन्, यी कार्यकर्ताहरू तपाईंहरूजस्ता राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले छोड्दैन यो राज्यलाई चुनौती हो’ भनेको अध्यक्ष शाहीले बताए।

‘तपाईं राज्यको प्रतिनिधि भएकाले तपाईंहरूजस्तालाई समातेपछि राज्यले हाम्रा कार्यकर्तालाई छोड्न सक्छ भन्नुभयो,’ उनले भने।

अध्यक्ष शाहीका अनुसार घरमा अपहरण गर्न आउँदा करिब २०/२५ जना थिए। तर, बीच बाटोमा १५ जना मात्र थिए भने अन्तिममा भने ६ जना मात्र भए। उनीहरूसँग ठूलो खालको हतियार नभएको अध्यक्ष शाहीले बताए।

‘ठूलो खालको हतियार थिएन, पेस्तोल मात्र राख्नुभएको थियोजस्तो लाग्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *