पत्रपत्रिका

मेडिकल कलेजका विद्यार्थीको सङ्घर्षबारे विप्लबको धारणा !

-विप्लब

निजी मेडिकल कलेज मालिक र सरकारी अति अत्याचारविरुद्ध मेडिकल कलेजका विद्यार्थीहरू सेतो ड्रेससहित सङ्घर्षमा उत्रिएका छन् । सुरुमा भैरहवा र चितवनमा उठेको विद्यार्थी सङ्घर्ष यतिबेला जनकपुर, विराटनगर, वीरगन्ज र काठमाडौँसम्म फैलिएको छ । विद्यार्थीहरूको पीडा कति रहेछ भने ज्ञान आफ्नो महत्वपूर्ण परीक्षासमेत बहिष्कार गरेर सङ्घर्ष गरिरहेबाट स्पष्ट हुन्छ । विगतमा सरकारी कलेजहरूमा देखिने आन्दोलनको राप–ताप निजी, त्यो पनि मेडिकल कलेजहरूमा देखापरेको छ । अर्थात् यतिबेला वास्तविक विद्यार्थी आन्दोलन मेडिकल कलेजहरूमा विस्फोट भएको छ जो वास्तविक विद्यार्थी हकहित र समस्यासँग सम्बन्धित छ । सरकारले विद्यार्थीलाई धोका दिएपछि विद्यार्थीका अभिभावकसमेत आन्दोलनलाई साथ दिन पुगेका छन् । सायद यस्तो आन्दोलन कमै भएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरूका माग धेरै पनि छैनन् । उनीहरूको मुख्य माग कलेज मालिकहरूले सरकारले तोकिदिएको शुल्कभन्दा लाखौँलाख अतिरिक्त शुल्क (एमबीबीएसमा २५ लाखसम्म बढी) लिन बन्द गर्नुपर्यो, लिएको रकम फिर्ता गर्नुप¥यो वा समायोजन गर्नुपर्यो भन्ने छ । अन्य मागहरूमा विद्यार्थीले अध्ययन सुविधा, गुणस्तरीय अध्यापन पाउनुपर्ने रहेका छन् जो एकदमै जायज छन् । जायज सङ्घर्ष भएकाले विद्यार्थीले हार्ने सवाल उठ्दैन ।

विगतमा निजी कलेजका विद्यार्थी, त्यसमा पनि मेडिकल कलेजका विद्यार्थीबारे एउटा भ्रामक धारणा थियो– मेडिकल शिक्षा पढ्ने विद्यार्थी हुनेखाने र माथिल्लो वर्गका हुने भएकाले उनीहरूलाई पैसाको मतलब छैन, पैसाका लागि सङ्घर्ष गर्न तयार हुँदैनन्, डक्टर बन्नबाट रोकिन चाहँदैनन् वा आन्दोलनकोे जोखिम उठाउन सक्दैनन् तर यो आन्दोलनले त्यो भ्रमलाई भताभुङ्ग पार्दै के साबित गर्यो भने मेडिकल शिक्षा पढ्ने विषय केवल पैसा धरै भएर, पैसाको कुनै मतलब नै नहुनेले पढ्ने, पैसाको बलमा मात्र लिनेदिने विषय होइन । यो शिक्षा पढ्नका लागि प्रभाव पार्ने तत्वहरू धेरै हुन्छन् । कैयौँको अभीष्ट डाक्टर बन्नेसँग हुन्छ, कैयौँको अध्ययनमा रुचि र आत्मविश्वास दुवै हुने हुँदा घरखेत गरेर पनि पढ्ने हुन्छन् । निजी भविष्यलाई नै हेरेर पनि ऋणधन गरेर पढ्ने हुन्छन् । हो, केही धनाढ्य पनि हुन्छन् । उनीहरूलाई मेडिकल शिक्षा र डाक्टरको जति आकर्षण छ त्यत्तिकै शोषण–उत्पीडनको पनि चिन्ता भई नै हाल्छ ।

यो आन्दोलनमा मेडिकल कलेजका विद्यार्थीले के पनि साबित गरे भने उनीहरू डाक्टर पढ्ने विद्यार्थी मात्र होइनन्, देशका सचेत एवम् जागरुक युवा विद्यार्थी पनि हुन् । उनीहरूले मेडिकल शिक्षा र डाक्टरलाई जोड दिन्छन् तर परिआए सेतो डे«ससँग विद्यार्थीअधिकार, जनता र देशका लागि कठिनाइहरू भोग्न पनि तयार छन् । उनीहरूको तीक्ष्ण दिमाग डाक्टर पढ्नका लागि मात्र हैन, मतिहीन सरकार, कठपुतली मन्त्री र अत्याचारी मालिकहरूसँग सङ्घर्ष गर्न पनि सक्षम छ भन्ने साबित भएको छ । यसबारेमा केही दिनपहिले चितवन मेडिकल कलेजका विद्यार्थीहरूको सङ्घर्षलाई आँखैले नियालेकी लेखक सरिता तिवारीले गरेको विश्लेषणात्मक लेख धेरै मार्मिक छ ।

देशमा कम्युनिस्ट नामधारी पार्टीको सरकार छ । शिक्षामन्त्रीमा शिक्षामा व्यापारीकरण र निजीकरणका विरुद्ध आन्दोलन गर्दै आएको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट आएका मान्छे गिरिराजमणि छन् । उनीहरूले अलिकति मात्रै पनि जनताको प्रतिनिधत्व गर्थे भने कसैले नभन्दै शैक्षिक क्षेत्रका बेथिति, व्यापार, माफियागिरी, लुटका विरुद्ध कदम चाल्नुपथ्र्यो, मेडिकल शिक्षालगायत शिक्षा क्षेत्रलाई सर्वसुलभ र जनताले पढ्न सक्ने बनाउनुपथ्र्यो । ल, आफ्नो मति खुलेन भने दुःखसुख पढिरहेका युवा विद्यार्थीहरूले सारा कठिनाइ उठाएर सङ्घर्ष गरेपछि उनीहरूका साथमा उभिँदै न्याय दिनुपथ्र्यो । मालिकहरूले मान्न अस्वीकार गरेर कलेज नै दिन तयार भए राष्ट्रियकरण गर्न अघि सर्नुपथ्र्यो । विडम्बना ! प्रजातन्त्रवादी गोविन्द केसीले राष्ट्रियकरणको आवाज उठाउँदासमेत कम्युनिस्ट भई टोपलेका मन्त्री गिरिराजमणि कलेज मालिकहरूसँग अँध्यारो कोठामा साँठगाँठ गर्दै सङ्घर्षमा सहभागी विद्यार्थीबिनै मालिकहरूका पक्षमा वकालत गर्छन् । मालिकहरूको उक्साहटमा विद्यार्थीलाई पुलिस लगाउन र लाठी बर्साउन हिँड्छन् । विद्यार्थीका छात्रावासमा पुलिसलाई पेस्तोल राख्न लगाएर हिंसा मच्चाउन उद्यत बन्छन् । कलेजभित्रै पुलिस पसाएर विद्यार्थीलाई कुट्न लगाउँछन् ! यो त कम्युनिस्ट नाम, झन्डा र लोगोकै हुनु बेइज्जती भयो । गिरिराजमणिको यो लाचारी, कमिसनखोरी, मालिकतावेदारी, दमनकारी रबैया पञ्चायतको भन्दा पनि तुच्छ देखियो । ‘भ्रष्टाचार गर्दिनँ’ भन्ने केपी सरकारको मन्त्रीको यो चालालाई कसले पत्याउँछ सदाचारी, ब्रह्मचारी छ भनेर !

विद्यार्थी सङ्घर्षमा देखिएको अर्को अनैतिक एवम् दुर्नियतपूर्ण शैली के देखियो भने विद्याथीहरू आफूमाथि भएको असैह्य शोषण–उत्पीडनका विरुद्ध सङ्घर्ष गरिरहेका छन्, कलेज मालिक, प्रहरी प्रशासन, मन्त्रीहरू र सरकारचाहिँ जबर्जस्ती राजनीतिक रङ भरेर आतङ्कराज खडा गर्न खोजिरहेको छ । कतिसम्म निचता र तुच्छता देखियो भने विद्यार्थीको कोठाबाट पेस्तोल भेटियो भन्ने, एकैछिनमा कोठाबाट होइन, छात्रवासबाट भेटियो भन्ने, कलेजले विद्यार्थीको होइन भन्ने अनि लाजै पचाएर पुलिसले कलेज प्रशासनकै हुनसक्छ भन्नेसम्मका प्रचार गरे । यस्तो निचता देखिँदा पनि सरकार र सरकारी पार्टीका मान्छेहरू चुपचाप छन् । सरकारको यस्तो मुढाग्रही र पूर्वाग्रही सोचाइलाई कसरी हेर्ने ? उनीहरूको यस्तो कुकर्मलाई मेडिकल विद्यार्थीहरूले कसरी हेर्लान् ?

कुनै समय थियो राणाशाही अत्याचारको विरोध गर्ने जोसुकै प्रजातन्त्रवादी मानिन्थ्यो, पञ्चायती अन्यायका विरुद्ध सङ्घर्ष गर्ने जोकोही बहुदलवादी र अराष्ट्रिय तत्व मानिन्थ्यो, जनयुद्धकालमा काङ्ग्रेस—एमालेको विरोध गर्ने जोकोही आतङ्कवादी मानिन्थ्यो र कठोर सजायको भागीदार बन्थ्यो । आज नेपाल कम्युनिस्ट पार्टीको समर्थक, उग्रवादी र राजद्रोही मानिँदैछ । केपी र गिरिराजलाई यत्ति त थाहा हुनुपर्ने हो, अन्याय र शोषण हुँदा सङ्घर्ष गर्न उग्रवादी र राजद्रोही हुनु पर्दैन अथवा न्यायको खोजीमा उत्रेका नागरिकलाई उग्रवादी र राजद्रोहीको आरोप लगाएर न्यायपूर्ण सङ्घर्षबाट रोक्न किमार्थ सकिँदैन । विद्याथीहरूलाई अति शोषण र अन्याय भएको छ । अन्यायका विरुद्ध सङ्घर्ष गर्नु जायज छ । उनीहरूले न्याय पाउनैपर्छ । न्यायको सङ्घर्ष गर्दा जुनकुनै आरोप लगाइए पनि उनीहरूले विद्यार्थीमाथि थोपरिएका अन्याय, शोषण र अत्याचारविरुद्ध सङ्घर्ष गर्नुपर्छ । न्यायपूर्ण सङ्घर्ष गर्ने विद्यार्थी हाम्रो पार्टीको हुनु पर्दैन तर विद्यार्थीको सङ्घर्षलाई हाम्रो पूर्ण समर्थन र साथ रहन्छ ।

हाम्रो दृष्टिकोण छ, कुनै मान्छे आफूमाथि अन्याय र अत्याचार हुँदा पनि बोल्दैन भने त्यो मान्छे बन्न लायक होइन, दास बन्न लायक हुन्छ । आफ्नो हित र अधिकारका लागि पशु मात्र बोल्न सक्दैन जब कि पशु पनि ज्यान जोगाउन छिन्निभिन्नी गर्छ, फाँ—फुँ गर्छ । त्यति पनि नगर्ने मान्छे पशुभन्दा पनि तल हुन्छ । सचेत विद्यार्थी जे गर्दा पनि कसरी चुपचाप टाउको झुन्ड्याएर मालिकका दास भएर बस्न सक्छन् ! उनीहरू कराउनु, उफ्रिनु, न्यायको आवाज बुलन्द गर्नु, सक्ने स्तरमा सङ्घर्ष गर्नु एकदमै स्वाभाविक र सही हो । केपी—गिरिराजको गिराइ, बिराइविरुद्ध युवा विद्यार्थी उठ्नै पर्दथ्यो । मेडिकल कलेजका विद्यार्थी उठेका छन् । उनीहरूलाई सारा न्यायप्रेमी नेपालीले सम्मान र सलाम गर्नुपर्छ ।

सामान्यतः सङ्घर्ष र क्रान्तिको मार्गमा सहजै कोही पनि अगाडि बढ्दैन । जब जनताको अधिकार, मुक्ति र देशका लागि बढ्नैपर्ने बाध्यता आउँछ, सङ्घर्ष र क्रान्तिबाहेक अर्को विकल्प रहँदैन तब न्यायप्रेमी र क्रान्तिकारीहरूले सङ्घर्ष र क्रान्तिको बाटो हिँड्नैपर्छ । जसले न्याय र सत्यका लागि कठिनाइ र खतरा उठाउन सक्छ अन्ततः उसैले अन्याय, शोषण, दमनलाई परिवर्तन गर्न सक्छ । विजय अन्यायी सत्ता र सरकारको हुँदैन, न्यायपूर्ण आन्दोलन गर्ने नागरिकहरूको हुन्छ । -eratokhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *