समाचार

मेलम्चीको डेटलाइन तोकियो, आगामी असार मसान्तभित्रैमा काठमाण्डौमा पानी झार्ने

हेलम्बु, सिन्धुपाल्चोक । मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन् । शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो ।

यहाँ इन्जिनीयरहरु पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए । चाइनिज कामदार पनि आ–आफ्नै जिम्मेवारीमा व्यस्त थिए । कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।” तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पु¥याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

शुक्रबार राससकर्मी आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटिनुभएको थियो । यहाँ अहिले हेडवक्र्स (इन्टेक)को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ ।

दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले राससलाई बताउनुभयो । ढिला गरेमा भने जरिवाना लाग्नेछ । अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उहाँले दाबी गर्नुभयो । उहाँले सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *