पत्रपत्रिका समाचार

बाहुनको छोराले सार्कीको छोरीसंग लम्जुङमा मागी विवाह गरे

लम्जुङ, ३० मङ्सिर ।

अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न हुन थालेका छन् । अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमुना रुपमा प्रस्तुत हुन थालेको हो ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ ।

मंसिर २८ गते दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो । केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो ।

अन्तरजातीय विवाह गरेको निहुँमा हत्या, कुटपिट,धम्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं । गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखेको निहुँमा काभ्रेका अजित मिजारको हत्या भएको पनि चार वर्ष वितिसको छ ।

तर यही समाजमा विस्तारै दलित र गैरदलितबीच मागी विवाह गराउने काम पनि सुरु हुन थालेको छ । केही हप्ता अघिमात्र इटहरीमा रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि उमेश सेन्च्युरी विश्वकर्मा र मिरा रेग्मीबीच मागी विवाह भयो ।

मंसिर २५ गते मकवानपुरमा पनि सागर लाम्गादे र ईश्वरी अधिकारीबीच मागी विवाह भयो । मंसिर २५ गते बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागी विवाह गरे ।

यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जातीय रुपमा दुव्र्यवहार खेप्नुपर्छ कि पदैन हेर्नु बाँकी छ ।

इटहरीमा बाहुनकी छोरी र विश्वकर्माको छोराबीच मागी विवाह

इटहरी/ समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता मिरा रेग्मी र उमेश सेन्च्युरीले। रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका हुन्।

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे। नवविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारात्मक परिवर्तनका अभियन्ता हुन। बाल समूहबाट स्थानीय स्तरमा स्थापित हुँदै कलमको माध्यमले जातिय विभेद र असमान मूल्य मान्यतालाई चिर्दै हानिकारक मनोविचार बिरुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्थापित दुवै ससक्त युवा सहकर्मी हुन्

बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ। तर ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो।

सो वैवाहिक अवसरमा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित थियो । हर्षित मुद्रामा उपस्थिति जनाएका सम्पुर्ण समुदायका पाहुनाहरुले नवदम्पतीले अबको युवापुस्तालाई जातीय भ्रमदेखि उन्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए।

समाजमा अहिले पनि जातीय छुवाछूत र अन्तरजातीय विवाहकै कारण मृत्युहुन पर्ने अवस्थामा आफुहरुले समाज रुपमान्तरणमा सफल र नमूना जोडीको सन्देश दिन दलित र गैरदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन्।

मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सुरुवात सबै युवापुस्ताले गरे ,समाजको विभेद केही हदसम्म हट्छ। ’आठ बर्षदेखि अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसोबास गर्दै आएका नवदम्पती सामाजिक न्यायका लागि सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *