Uncategorized

कालापानीबाट साम्राज्यवादी सेना हटाऊ

नेपालको छातीमा भारतीय साम्राज्यवादी सेनाले निरन्तर परेड खेलेको ६० वर्ष पुग्न लागेको छ । आज देशभक्त, स्वाभिमान, स्वतन्त्रताप्रेमी, क्रान्तिकारी राष्ट्रवादी शक्ति र जनता भारतीय साम्राज्यवादबाट नेपाली भूमि अतिक्रमणका विरुद्ध जुरुक्क उठेको छ । सन् १९६२ देखि भारतीय साम्राज्यवादी सेनाले क्याम्प बनाएर नेपाली भूमि कालापानी अतिक्रमण गरेको विरोधमा आज सिङ्गो नेपाली जनमत सडकमा उत्रिएको छ तर प्रधानमन्त्री केपी शर्मा वली अस्पतालको बिस्तराबाट रुन्चे स्वरमा ‘रोगी अभिव्यक्ति’ दिइरहेका छन् ।

उनी सिङ्गो नेपाल खोज्ने नेपालीलाई कर्मकाण्डी जबाफ फर्काइरहेका छन् । सत्तासीन दलका नेताहरू आफ्नो साम्राज्यवादी मालिक रिसाउला कि भनेर डराईडराई, घोसेमुन्टो लगाएर बसेका छन् । उनीहरूलाई नेपाली भूमिमाथिको भारतीय साम्राज्यवादी हस्तक्षेप दुखेको छैन, सत्तास्वार्थ र कुर्सी दुखेको छ । यो नेपाली राष्ट्रियता, नेपाली स्वाभिमान र सार्वभौम–स्वतन्त्रताप्रेमी नेपालीको भावनामाथिको बज्रप्रहार हो । यसको खेद र निन्दा गर्नुपर्छ ।

चीनसँगको सीमायुद्धमा पराजित भएर भागेको भारतीय सेनाले नेपाली भूभाग कालापानी कब्जा गरेको ६० वर्ष पुग्न थालिसकेको छ तर पनि नेपाली शासकहरू कुर्सी र व्यवस्था जोगाउने ध्याउन्नमा भारतीय शासकहरूको पाउ पुजेर सीमामाथिको अतिक्रमणमा केही बोलिरहेका छैनन् । चीनबाट पराजित भएर भागेको भारतीय सेनाले महाकालीमा कब्जा जमाउँदा तत्कालीन राजा महेन्द्रले किन मौन समर्थन गरे ? वा निरङ्कुश पञ्चायती व्यवस्थाको समर्थन पाउनकै लागि भारतीय साम्राज्यवादी सेना हटाउने विषयमा किन पहल गरेनन् ? आफूलाई अब्बल राष्ट्रवादीको स्वघोषित पगरी गुथाउने दरबारियाहरू, पञ्चशासकहरू र राजामहाराजाहरू ब्वाँसोले शरीरमा आक्रमण गरिसक्दा पनि किन सन्चो मानेर बसे ? के उनीहरूलाई दक्षिणएसियाभरि नै अतिक्रमण गरिरहेको र हेर्दाहेर्दै लेन्डुपहरू जन्माएर स्वतन्त्र सिक्किम निल्ने भारतीय साम्राज्यवादी चालबारे कुनै ज्ञान वा अनुमान थिएन ? मानिलिऊँ, राजा महेन्द्रले त पञ्चायती व्यवस्थाको रक्षाका लागि बोलेनन् रे !

निरङ्कुशताका प्रतीक महेन्द्रपछिका सरकारहरूले किन कहिल्यै कालापानीबाट भारतीय सेना हटाउन पहल गरेनन् ? यसले देखाउँछ– नेपाली शासकहरू भारतीय साम्राज्यवादका दलाल थिए र छन् । जनदबाबपछि उनीहरू रुन्चे स्वरमा लुते कुकुर कुइँकुइँ गरेझैँ गर्छन् र जनआवाज मत्थर पार्न अनेक भ्रम छर्छन् । जनदबाब कम हुँदै गएपछि फेरि लम्पसार पर्छन् र भारतभक्ति गर्छन् । शासकहरूको यही अवस्था र मनोदशा बुझेरै भारतले नेपालको भूगोल मात्र होइन, राजनीति, अर्थतन्त्र, संस्कृति सबै क्षेत्रमाथि हस्तक्षेप र अतिक्रमण गरिरहेको छ । यो निन्दनीय र खेदजनक छ ।

विगतमा पनि नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूले नै भारतीय साम्राज्यवादको चौतर्फी हस्तक्षेप र आक्रमणका विरुद्ध निरन्तर आवाज उठाइरहेका हुन् । अहिले पनि नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय उठाएर एकीकृत जनक्रान्ति गरिरहेको छ । कम्युनिस्टहरू स्वभावैले अन्तर्राष्ट्रियतावादी हुन् । यसमा उनीहरू गौरव गर्छन् । उनीहरू सीमारहित राज्य निर्माणका लागि अहोरात्र लागिरहेका छन् तर संसारमा विस्तारवाद र साम्राज्यवादको अस्तित्व रहेसम्म कम्युनिस्टहरू नै सबैभन्दा बढी देशभक्तहरू पनि हुन् ।

भारतीय साम्राज्यवाद सुगौली सन्धिका प्रावधानसमेत लत्याउँदै कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि अतिक्रमण गरिरहेको छ । देशभक्त नेपाली जनता र योद्धाहरूको असहमति हुँदाहुँदै केही थान चन्द्रशेखर पाध्याहरू अर्थात् नेपाली लेन्डुपलाई प्रयोग गरेर तत्कालीन शासकहरूले नेपाली भूमि लुटाउँदै राष्ट्रघाती, असमान र बदनाम सुगौली सन्धि गरेका थिए ब्रिटिस–भारतीय शासकहरूसँग । आज भारतले त्यो सन्धिलाई समेत लत्याइरहेको छ । भारतबाट ब्रिटिस शासक फिर्ता भएपछि सुगौली सन्धि स्वतः निष्प्रभावी बन्नुपर्ने थियो तर भारतीय शासकहरू पुख्र्याैली उपहार र नासोका रूपमा अतिक्रमणकारी ब्रिटिसपथमा हिँडिरहेका छन् ।

भारतीय शासकहरू नेपालमाथिको असमान, अपमानजनक र राष्ट्रघाती सुगौली सन्धिले निर्धारण गरेको महाकालीदेखि पूर्वको भूमि नेपालको हुने प्रावधानसमेत अटेर गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई आफ्नै ठान्ने मूर्खता गर्छन् भने नेपाली भूमिमा उठिरहेको सुगौली सन्धिअघिको सम्पूर्ण नेपालसहितको विशाल र बृहत् नेपालको माग अझ व्यापक बन्दैन र बन्नु हुँदैन भन्ने के छ ? कालापानीबाट भारतीय सेना फिर्ता भएन र नेपालका मिचिएका जमिन फिर्ता गर्न मानेन भने नेपालीहरूले सुगौली सन्धिअघिको विशाल नेपालको माग जोडदार रूपमा उठाए भने भारत के गर्छ ?

भारतीय साम्राज्यवाद दक्षिणएसियामा मिचेर, पेलेर हेपेर जाने स्वभावको छ । उसले पाकिस्तानलाई रुवाएको छ । भर्खरै कास्मिर–लद्दाख निलेको छ । हिजो सिक्किम निल्यो । उता बङ्गलादेशलाई तड्पाइरहेको छ । श्रीलङ्का सधैँ भारतबाट आजित छ । चीन त अजातशत्रुजस्तै भइहाल्यो । नेपाललाई सुगौली सन्धिदेखि नै खाइरहेको छ । मिचिरहेको छ । शोषण गरिरहेको छ । त्यसैले स्वाभिमान नेपालीहरू सधैँ भारतीय साम्राज्यवादी नीति र हस्तक्षेपका विरुद्ध छन् ।

साम्राज्यवाद अत्यन्त क्रूर हुन्छ । अमेरिकी साम्राज्यवादले दक्षिणकोरियालगायत दर्जनौँ मुलुकमा याङ्कीहरू तैनाथ गरेर विश्वमा दबदबा कायम रहेको देखाउने धृष्टता गरेझैँ भारतीय साम्राज्यवाद त्यही सिको गरिरहेको छ । जनगणतन्त्र कोरियाली जनताले लाखौँको सङ्ख्यामा बलिदान गरेर पनि जापानी र अमेरिकी साम्राज्यवादी सेना लखेटेर मुलुकको रक्षा गरेझैँ नेपाली जनताले पनि सोच्नुपर्छ । नेपाल सरकारले भारतीय शासकहरूबाट प्रभावित भएर आजसम्म लिम्पियाधुरा, लिपुलेकलाई नेपालको नक्साभित्र पारेको छैन । त्यसलाई तत्काल नेपालको नक्साभित्र पार्नुपर्छ ।

जनताहरू विप्लव आऊ, कालापनी, लिपुलेक र लिम्पियाधुरा बचाऊको नारा लगाइरहेका छन् । नेकपा सडकमा छ तर साम्राज्यवादकोृ पिट्ठु फासिवादी वली सरकार कालापानीबाट सेना हटाउने पहल गर्नुको साटो राष्ट्रियता रक्षाको माग गर्दै आन्दोलन र सङ्घर्ष सञ्चालन गरिरहेको नेकपाका नेताहरूलाई गिरफ्तार गरेर नाङ्गो रूपले साम्राज्यवादको चाकरी गरिरहेको छ ।

घरमा पालेको कुकुरले मालिकलाई टोकेर पराईसामु पुच्छर हल्लाएको जस्तो गरिरहेको छ वली सरकार । नेपाली जनताले यस्तो राष्ट्रघाती कदमको विरोध गर्नुपर्छ र राष्ट्रियताको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । भारतीय सामज्यवादी हस्तक्षेपविरुद्ध कास्मिरका विषयमा पाकिस्तान राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय अदालत गएको छ । हामी पनि जान ढिला गर्नु हुँदैन ।

रातो खबरको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *