टिप्स फोटो फिचर

राजा बिरेन्द्रको प्रिय घर (फोटो फिचर)

चित्रमा देखाइएको राजा बिरेन्द्रको प्रिय घर श्रीसदन हो । पुर्खा देखि चल्दै आएको परम्परा अनुसार यूवराज १८ बर्षको पुगेपछि राजा रानीबाट अलग्गै बस्नु पर्ने भएकाले तत्कालिन युवराज विरेन्द्रका लागि श्रीसदनको निर्माण गरिएको थियो तर पछि राजा भएपछी पनि श्रीसदनलाई आफ्नो बंगालको रुपमा प्रयोग गरेका थिए ।

श्रीसदन नारायणहिटी संग्रालयको पुर्बतर्थ दक्षिण मोहोडा फर्किएको तिन तलाको छ ।

यसमा ठुला १२ कोठा छन् भने अन्य साना कोठाहरु पनि छन् । बाहिरबाट आधुनिक शैलीमा देखिने यो घर प्यागोडा शैलीमा बनाइएको छ । टुंडाल, झ्यालहरु कलात्मक काठले सजाइएका छन्, माथिल्लो तलामा माटो र गोबरले लिपेर बुईङ्कल समेत बनाइएकाले नेपाली पनको झल्को मज्जैले दिन्छ । नेपाली वास्तुकला प्रति बिरेन्द्रको लगावरहेको यसले प्रमाणित गर्छ ।

श्रीसदनको दक्षिण तर्फ आवातजावत गर्ने ठुलो द्वारा रहेपनि कहिले काही मोटरबाट आवत-जावत गर्न बिरेन्द्रले पश्चिम तर्फ रहेको ग्यारेजको बिशेष सुरक्षायुक्त ढोका प्रयोग गर्थे । उक्त ढोका राजाको मोटर र आफ्नो उपस्थितिमा मात्रै खुल्ने र बन्द हुने उपकरण जडान गरिएको थियो । तर अहिले यो बिग्रिएको छ ।

बंगालको अगाडी सानो चौर र बिचमा ठुलो घण्टा झुण्ड्याएको छ । उक्त चौरमा रानी ऐश्वर्याले प्रत्यक दिन मध्यानन चराहरुलाई चारो खुवाउने र उक्त चौरमा बिरेन्द्रले गाँस काट्ने गरेको त्यहाँ कार्यरत राज प्रसाद सेवाका कर्माचारीहरुले बताउने गर्छन ।

श्रीसदनको भुइँ तलाको मुख्य द्वारबाट प्रवेश गरेपछि केहि खालि स्थान र सामुन्नेमा माथि उक्लने भर्याङ्ग छ । यसको दाँया बाँया दुइ वटा ठुला कोठाहरु छन् । यहि कोठाको दाँयाको एउटा कोठामा युवराज दिपेन्द्र जन्मिएपछी रानी एस्वर्य कुना बसेको, १८ वर्ष नपुगुन्जेल युवराज दिपेन्द्रले प्रयोग गरेको, पछि बिरेन्द्रले प्रसासनिक कामका लागि प्रयोग गरेको र बिशेष कामले आएका मानिसहरु संग भेट्ने गरेकाले उक्त कोठालाई अलि बिशेष मानिन्छ ।

बाँया तर्फ बैठक कोठा र खाना खाने कोठा छ । खाना खाने कोठा अगाडी राजा बिरेन्द्रको ड्रिङ्क्स गर्ने आर्को सानो कोठा छ । उनि त्यहा बसेर प्राय सेरी नाम गरेको ह्विस्की पिउने गर्थे । त्यहाँको कोठामा राजाका सहोदर भाइ भतिजाहरु र रानीका माइतिपट्टिका सहोदर दाजुभाइहरु मात्र प्रवेश गर्न पाउथे भने खानाखाने कोठामा राजपरिवारका ५ जना बाहेक अरुलाई प्रवेश अनुमती थिएन ।

श्रीसदनको बीच तलामा राजा बिरेन्द्र र रानी ऐश्वर्याको कोठाहरु छन् । बिरेन्द्रको कोठामा साधारण किसिमको सुत्ने खाट र खाटको र्याकमा केहि देवीदेवताको तस्बिर, खाटको सामुन्ने पुरानो मोडेलको टेलिभिजन, बायाँ तर्फ एउटा काठको दराज र खाटको अगाडी ढोकाकै छेउमा जित नाम गरेको उनको प्रिय कुकुर सुत्ने गरेको र्याक छ ।

दरबार हत्याकाण्ड भएको समयताका र्याक भित्रको त्यो कुकुरलाई बोरामा हालेर नदीमा फालिएको हल्ला पनि बाहिर आएको थियो र त्यहा कार्यरत कर्मचारीका अनुसार बिरेन्द्रको मृत्युपछि उक्त कुकुर राजा बीरेन्द्रलाई नदेखेर रुनेगरेकाले उक्त कुकुरलाई आफूसंगै राखेका थिए । केहि समय पछि कुकुर मरेको थियो ।

दरबारमा सबैका आ-आफ्नै मन परेका कुकुर थिए । युवाराजकुमारी श्रुतिको साझा नाम गरेको कुकुर थियो । राजपरिवार कतै भ्रमणमा जाँदा उक्त कुकुरलाई बाटैमा फेलापारी त्यहाँ ल्याइएको थियो । सानै उमेर भएकाले दिदि भाइले मेरो कुकुर – मेरो कुकुर भनेर झगडा गर्न थालेपछि बिरेन्द्रले यो कुकुर दुबैको साझा हो भनि चित्त बुझाए पछि उक्त कुकुरको नाम साझा साहना गएको थियो ।

यहि तलामा राजा बिरेन्द्रको पोशाखहरु फेर्ने छुट्टै कोठा रहेको छ । अहिले पनि यहाँ रहेका दराजहरुमा उनको केहि जोर पोशाक देख्न सकिन्छ ।

नारायणहिटी दर्बार संग्राहलयमा रहेको बिरेन्द्रको सुत्ने र प्रसासन चलाउने कोठा बुलेट प्रुफ रहेपनि श्रीसदनको कुनैपनि कोठा बुलेट प्रुफ छैनन् । त्यसैगरी यहि तलामा बिशेष अबस्थामा राजा बिरेन्द्रबाट अलगै सुत्न र शृंगारका लागि बनाएको रानी एश्वार्यको कोठा पनि रहेको छ । उनको यो कोठामा एउटा सुत्ने ठाउ, सजावटको सामान राख्ने एउटा दराज, पुरानो मोडेलको क्यासेट प्लेर र भजन, गजल तथा नेपाली संगीतका केहि क्यासेट चक्काहरु तथा विभिन्न समयमा खिचिएका तस्बिरहरु सजाइएकाले उनि भगवान कृष्णलाई बढी पुजने गर्थिन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

श्रीसदनको माथिल्लो तलामा अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिको कोठाहरु रहेका छन् । युवराज दीपेन्द्रको कोठा भने यहाँ रहेको थिएन । उनका लागि त्रिभुवन सदन जिरोद्वार गरि बस्ने ब्यबस्था मिलाइएको थियो, जहाँ दर्बार हत्याकाण्ड भएको थियो । श्रुति र निराजनका कोठामा पढ्ने आबस्यक सामाग्रीहरु, पढ्ने समयतालिका, पुस्तकहरु, बाल्यकालका फोटाहरु, घडी, नेपाली हस्तकलाका सजावटका सामानहरु आदि देख्न सकिन्छ । यहि कलामा अधिराजकुमार निराजनले शारीरिक अभ्यास गर्ने कक्षा कोठा पनि रहेको छ । अधिराजकुमारी श्रुति एउटा राम्रो चित्रकार पनि थिइन् भन्ने कुरा श्रीसदनको भर्यांङ्गको भित्ताहरुमा सजाइएका उनले बनाएका सुन्दर चित्रहरु हेरेपछि प्रष्ट हुन्छ ।

श्रीसदनको पछाडी पट्टि धाई र सुसारेहरुका लागि भने बाहिरि भर्याङ्ग पनि बनाइएको छ । उनीहरु त्यहि भर्याङ्गबाट राजा रानीका खोपिहरुमा आउने जाने गर्थे । यी सबै खोपाको अवलोकन गर्दा साधारण नागरिकको जीवन र राजपरिवारको जिवनमा खासै अन्तर नरहेको महसुस हुन्छ ।

श्रीसदन संगै आधुनिक र परम्परागत दुवै किसिमका चुलो रहेको भान्सा घर र एउटा छुट्टै भवनमा राजाहरुले प्रयोग गरेका ५० भन्दा बढी विभिन्न प्रख्यात मोटर कम्पनीका मोटरहरु पनि राखिएका छन् । यहाँ आधुनिक मोटरहरुको अलावा जर्मन चान्सलर हिट्लरले राजा त्रिभुवनलाई उपहारको रुपमा दिएको मोटर र राजपरिवारले बाल्यकालमा चढेका मोटरहरु पनि देख्न सकिन्छ ।

श्रीसदनको पछाडी एउटा सुन्दर बगैचा छ रानी ऐश्वर्य फुल र फूलबारीको सोखिन भएकाले राजा बिरेन्द्रले रानीका लागि यो बगैचा बनाइ दिएको र रानी आफै कुटो लिएर यो बगैचामा काम गर्ने गर्थिन भन्ने त्यहाँ कार्यरत कर्मचारीहरु स्मरण गर्ने गर्छन । बगैचामा विभिन्न जातका फूलहरुको अतिरिक्त आँप, चाँप रुद्राक्ष आदिको बिरुवा रोपिनु र पंचायन देवता स्थापना गरिनुले राजारानीले यसलाई धार्मिक बगैचाको रुपमा दिन खोजेको बुझिन्छ ।

जाडो महिनामा रानी यहि बगैचामा बसेर घाम ताप्ने, खाना खाने, मन परेकाहरु संग बसेर गफगर्ने गर्थिन ।

त्रिभुवन सदन, जहाँ दीपेन्द्र बस्थे

२०५८ जेठ १८ गते शुक्रबार राति त्रिभुवन सदनको विलियार्ड हलमा राजपरिवारको पार्टी चलिरहेको थियो।

विलियार्ड हलको ढोका हुँदै दीपेन्द्र आफ्नो निवास पुग्थे। उनी बस्ने निवास पनि साधारण किसिमको थियो। विलियार्ड हलबाहिर एउटा सानो गोरेटो छ, जुन रुट हुँदै दीपेन्द्र आफ्नो निवास जाने गर्थे।

त्यही विलियार्ड हलअगाडि निराजनलाई गोली हानिएको थियो। निराजनलाई निशाना लगाएर हानिँदा धेरैपल्ट ‘मिस फायर’ भएको थियो, जसको निशानी त्यहाँ देख्न सकिन्छ। निराजन ढलेको स्थानको झन्डै पाँच मिटर नजिक दीपेन्द्र ढलेका थिए। सानो पोखरीको पुलको डिलमा दीपेन्द्र ढलेका थिए। त्यसको पारिपट्टि ऐश्वर्य ढलेकी थिइन्।

दीपेन्द्र आफैंले गोली चलाएको भनिए पनि दरबार हत्याकाण्ड रहस्यमै छ।

रानी ऐश्वर्य ढलेको स्थानमा रहेको भवन त्रिभुवन सदन पछि पूर्वराजा ज्ञानेन्द्रले भत्काएका थिए। दीपेन्द्र निवास भने सुरक्षितै छ।

त्रिभुवन सदन राजा त्रिभुवनले १९९० को भुइँचालोपछि बनाएका थिए। त्यतिबेला पुरानो नारायणहिटी दरबार भत्किएको थियो। दरबार भत्किँदा त्रिभुवनका दुई छोरीको मृत्यु भएको थियो। ‘भुइँचालोले दुई जना छोरीको निधन भएपछि ठूलो दरबारमा बस्नु हुन्न भनी त्रिभुवनले त्यो सदन बनाउनुभएको यहाँको इतिहासले बताउँछ,’ ढुंगाना भन्छन्, ‘पछि दीपेन्द्रले त्यो सदन प्रयोग गर्दै आउनुभएको थियो।’

उनका अनुसार १ करोड १२ लाख रुपैयाँ लागतमा त्रिभुवन सदन पुनः ठड्याइएको हो। त्रिभुवन सदनसँगै रानी ऐश्वर्य मारिएको स्थानमा भत्काइएको भवन पनि निर्माण गर्ने लक्ष्य लिइएको छ। ‘हामीले सबै काम सिध्याएका छौं, अब चाबी हस्तान्तरण गर्ने काममात्र बाँकी छ,’ त्रिभुवन सदन निर्माणका मुख्य ठेकेदार दीपेश बस्नेतले भने।

त्रिभुवन सदनभित्र ठूलो हल छ, जहाँ राजा वीरेन्द्रसहित सात जनाको हत्या भएको थियो। त्यही आकारको हल बनाइएको छ। सदनमा ६ वटा कोटा छन्। नयाँ बनेको त्रिभुवन ६ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ।

कसले बनायो नारायणहिटी?

नारायणहिटी परिसरको पूर्वभागमा शिखरशैलीको नारायण मन्दिर र त्यसको छेउमा धारा छ। नेपाल भाषामा धारालाई ‘हिटी’ भनिने हुनाले मन्दिर र धारा जोडेर ‘नारायणहिटी’ नामाकरण गरिएको यहाँको इतिहासमा उल्लेख छ।

नारायणहिटी प्रधानसेनापति शिवराम सिंह बस्नेतका कान्छा छोरा काजी धोकलसिंहको सम्पत्तिको रुपमा रहेको इतिहास बताउँछ।

१९०३ को कोतपर्वपछि यो परिसरलाई रणोद्वीप सिंहले आफ्नो बासस्थान बनाएका थिए। १९४२ सालमा घटेको ‘बयालीस साल पर्व’मा धोकलसिंहद्वारा बनाइएको भवन भत्काएर भाजुमानको डिजाइनमा नयाँ दरबार बनाइयो।

वीर शमशेरका दुई छोरीहरूको बिहे राजा पृथ्वी वीरविक्रम शाहले गरेका थिए। त्यसपछि नै यहाँ शाहवंशीय राजालाई स्थायी बसोबास गराइएको थियो। शाहवंशीय राजालाई यहाँ राख्ने परम्पराको सुरुवात वीर शमशेरले गरेका थिए।

वीर शमशेरले बनाएको नारायणहिटी दरबार १९९० को महाभूकम्पमा भत्कियो। त्यसपछि वास्तुकलाविद् इञ्जिनियर सूर्यजंग थापाको डिजाइनमा त्रिभुवन सदन निर्माण भएको थियो। हाल रहेको नारायणहिटी दरबार राजा महेन्द्रले २०२० सालमा निर्माण सुरू गरेका थिए। ६ वर्ष लगाएर निर्माण सकिएको नारायणहिटीको संरचनाले ४० हजार ८२० वर्गफुट क्षेत्रफल ओगटेको छ।

दरबारमा रहेका कक्ष देशका विभिन्न जिल्लाको नामबाट नामाकरण गरिएको छ। बैठक कोठा, राजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्ष, भान्सा, भोजन गरेर ५२ कोठा छन्। तीमध्ये १९ कोठा हाल प्रदर्शनीमा छन्। २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटी संग्रहालयको उद्घाटन गरेका थिए। पछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सर्वसाधारणको लागि संग्रहालय खुला गरिएको थियो।

सर्वसाधारणले श्रीपेच अहिले हेर्न पाइन्छ

गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच अहिले सर्वसाधारणले अवलोकन गर्न पाउछन्।

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न २०७५ असोज २९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो।

संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजमुकुटको सार्वजनिक गरेका हुन्।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रूपमा राखिएको थियो।

राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा उद्घाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *